सफल जीवन: कर्णेल गोपाल बहादुर खत्री
कर्णेल स्व. गोपाल बहादुर खत्री

मिलनसार, सरल व्यक्तित्वका धनी शाही पाश्र्ववर्ती महासेनानी स्वर्गीय श्री गोपाल बहादुर खत्रीको पश्चिम ३ नम्बर, तनँहु, चोक चिसापानी ८, दुधेकुनामा स्थाई घर भए पनि जन्म बिक्रम सम्बत १९८८ साल फाल्गुण २९ गते काठमाण्डौंमा भएको थियो । वाल्यकालमानै मुमाको देहाबसान भएपनि वुवा बलीन्द्र बहादुर खत्री (सेनाबाट मेजर दर्जामा अवकाश भई पछि पश्चिम १ नं नुवाकोट, धादिङ्ग र रसुवाको वडा हाकीम) राणाकालीन अवस्थाको नेपाली सेनामा सेवारत हुनु भएको कारण प्रारम्भिक शिक्षा दरवार हाई-स्कुलबाट शुरु भएको थियो तथापि अध्ययनमा निरन्तरता सम्भव नभएको कारण बाल्यकालको अवधि गाँउको घरमानै बितेको थियो ।
२००५ सालमा काठमाण्डौं आएर नेपाली सेनामा भर्ति भई वीर दल पल्टनमा खट्टिएर सैनिक सेवालाई आफ्नो कर्मथलोको रुपमा अङ्गिकार गर्नु भएको थियो । तिक्ष्ण बुद्धि, मेहनती तथा शिक्षाको ज्ञानको कारण सेनामा तत्कालीन समय अनुसारको पाठहरु सबै समयमानै बुझाउन सफल हुनु भएको कारण सेनामा सफलताको सिंढी चढ्न सफल हुनु भएको थियो ।
प्रजातन्त्रको उदय संगै सेनाको पुनसंरचना पछि २००९ साल बैशाख १ गते श्री गोरख बहादुर बटालीयन (रोयल गार्ड) खडा गरिए पश्चात शुरुबाटनै सो पल्टनमा सरुवा भई राजा त्रिभुवनको शासन कालमा नारायणहिटी राजदरवारमा खटिनु भएको थियो ।
२००७ सालमा लम्जुङ्ग, रागीनासका सुवेदार सनाथ सिंह थापा कि सुपुत्री प्रमिला थापा (मैंया) का साथ शुभ विवाह भएको थियो । वहांहरुको जेष्ठ सुपुत्र सहायक-रथी रमिन्द्र, माहिलो उप-रथी राजेन्द्र, तृतीय महा-सेनानी रतिन्द्र र कनिष्ठ रबिन्द्र गरी जम्मा चार छोराहरु छन् । यिनै चार छोराहरुबाट जम्मा आठ नाति-नातीनाहरु क्रमशः अभिलाषा, आकांक्षा, अभिषेक, आभुषण, अनीषा, आश्रीती, आभाष र आश्रय छन् ।
सैनिक पेशागत तालिमको सिलसिलामा भारतको ईन्फेन्ट्री स्कुल, माहुमा प्लाटुन कमाण्डर कोर्स तथा ईन्टेलीजेन्स स्कुल, पुनाबाट ईन्टेलीजेन्स, पिटी तथा मेथड अफ ईन्सट्रक्सन तालीम हासील गर्नु भएको थियो ।
नेपालको सेनालाई आधुनीकिकरण गर्ने सिलसिलामा भारतीय मिलीटरी मिशन आएर वि. सं. २०१३ सालमा नेपालमा नै संचालन गरीएको पहिलो अफिसर बेशिक तालीममा छनौट भई उत्कृष्ठ रुपमा तालीममा सफलता हासिल गर्नु भएको थियो । सो तालीम समाप्त भएपछि पुनः गोरख बहादुर पल्टन राजदरवारमा कार्यरत हुनु भएको थियो ।
वि. सं. २०१५ साल बैशाख १ गतेबाट राजा महेन्द्रले आफ्नो शाही पाश्र्ववर्तीमा (ADC) नियुक्ति गरीबक्सेको थियो । करिब १३ बर्ष राजा महेन्द्रको शाही पाश्र्ववर्तीमा नियुक्त भई कार्यरत रहंदा स्वदेशका अधिकांश अञ्चल तथा जिल्लाहरुको भ्रमण गर्ने अवसर प्राप्त गर्नु भयो । राजा महेन्द्रसंग निकट रहि कार्य गर्दाको उहांको अनुभव उल्लेखनिय रहेको थियो । २०२८ सालमा राजा महेन्द्रको स्वर्गारोहण भए पछि राजा वीरेन्द्रबाट आफ्नो शाही पाश्र्ववर्तीमा नियुक्ति गरी मुमा बडामहारानी रत्नको शाही पाश्र्ववर्तीको रुपमा कार्य गर्न तोकी बक्सेको थियो । यही अवधिमा २०३३ साल बैशाख १ गते प्रमुख-सेनानीमा र २०३८ साल बैशाख १ गते महा-सेनानी दर्जामा बढुवा हुनु भयो । २०४२ साल चैत्र १६ गते उमेरको हदले अवकाश भएतापनि पाँच बर्षकालागी २०४३ साल बैशाखबाट श्री ५ वीरेन्द्रबाट पुनः नियुक्ति पाई सेवालाई निरन्तरता दिनु भएको थियो । २०४८ साल बैशाख १ गतेबाट अवकाश भएतापनि वँहाको सेवाको कदर स्वरुप बाँचुन्जेल सम्मको लागि राजदरवार प्रवेशको सुविधा उपलव्ध भएको थियो ।
शुरुमा दरवार हाई स्कुलबाट शिक्षा आर्जन प्रारम्भ भएतापनि पछि सेनामा भर्ना भई सके पछि नन्दी रात्री स्कुलमा शिक्षा हासिल गरी म्याट्रि«क सम्म अध्ययन गर्नु भएको थियो ।
संयुक्त अधिराज्य बेलायत, जर्मनी, फ्रान्स, सोभियत रुस, ईटाली, स्विजरल्याण्ड, भारत आदी देशहरुको भ्रमण गर्नु भएको थियो ।
आफ्नो त्रिचालीस बर्ष लामो सेवामा गोरखा दक्षिणबाहु दोश्रा, त्रिशक्तिपट्ट तेश्रा, बिख्यात सेवा अलंकार, विशेष सेवा पदक, प्रसिद्ध सेवा पदक, दुर्गम सेवा पदक, शुभराज्याभिषेक पदक, दिर्घ सेवा पट्ट, सैनिक सेवा पट्ट तथा पिपुल्स आर्मी सिल्भर स्टार अफ युगोस्लाभियाबाट समेत बिभुषित हुनु भएको थियो । सेवा बाट निवृत्त भएपछि पनि गद्धि आरोहण रजत जयन्ती पदक र वीरेन्द्र ऐश्वर्य सेवा पदक बाट बिभुषित हुनु भएको थियो ।
कबिता लेखनलाई आफ्नो रुचीको रुपमा लिनु हुने हुदा वहाँको केही कविताहरु सैनिक पत्रिकाहरुमा प्रकाशित भएका छन् भने असंख्य अप्रकाशित अवस्थामानै रहेका छन् ।
सक्रिय सेवा पछि धेरै जसो फुर्सदका क्षणहरु नारायणी अञ्चल, चितवन जिल्लाको भरतपुरमा बिताउनु भयो । २०४७ साल को आश्विन महिनामा पहिलो पटक हृदयघात भएकोमा २०५८ साल माघ १५ गते शुक्लपक्ष स्वस्थानी पुर्णिमाको दिन दोश्रो पटकको हृदयघातले ७० बर्षको उमेरमा वीरेन्द्र अस्पताल छाउनीमा स्वर्गारोहण हुनु भएको थियो ।
मेहनती, मृदुभाषी, सहयोगी, सामाजिक सेवा भावले ओतप्रोत, बहु-प्रतिभाशाली र सबै संग सहज रुपले घुलमिल हुनसक्ने गुणले सम्पन्न स्व. कर्णेल गोपाल बहादुरको जीवनगाथा र तनहुं दुधेकुना देखि नारायणहिटी राजदरवार सम्मको लामो सफल यात्रा उहांको परिवारलाई मात्र नभई निश्चय नै जो कोहीलाई पनि पे्ररणाको श्रोत हुन सक्नेछ ।