जीवनी उपरथी श्री रमीन्द्र क्षत्री

उपरथी श्री रमीन्द्र क्षत्री


उपरथी श्री रमीन्द्र क्षत्रीको जन्म वि.सं.२०१६ कार्तिक २९ गते काठमाण्डौको सामाखुशीमा भएको थियो । उहां स्वर्गीय महासेनानी गोपाल बहादुर खत्री र माता प्रमिला थापाका जेष्ठ सुपुत्र हुनुहुन्छ । वि.सं.२०३६ मंसिरमा अधिकृत क्याडेट छनौट भई उहां वि.सं.२०३७ मा नेपाली सेनाको सहायक सेनानी पदमा आयुक्त हुनु भयो । उहांले स्वदेश तथा विदेशमा गरेर विभिन्न तालिमहरु सफलतापुर्वक सम्पन्न गर्नु भएको छ । उहांले Royal Military Academy, Sandhurst UK मा अधिकृत आधार तालिम, ब्रुनाईमा Jungle Warfare, Intelligence Staff Officers Course र अमेरिकामा Infantry Officers Advanced Course गर्नु भएको छ । Army Command and General Staff College अमेरिकाबाट गर्नु भएका उ.र. क्षत्रीले हवाई द्धिपमा Comprehensive Security Response to Terrorism Course in Asia Pacific लगायत विभिन्न राष्ट्रहरुमा विविध कोर्स, सेमिनार र सम्मेलनहरुमा समेत सहभागी भई सक्नुभएको छ ।


उ.र. क्षत्रीले नेपाली सेनाका विभिन्न तहमा रही कार्य गर्नु भएको छ । उहांले दुई अनाश्रित गुल्म तथा तीन गणहरुको नेतृत्व गरी सक्नु भएको छ । आन्तरिक विद्रोहको सुरुवात ताका Integrated Internal Security and Development को अवधारणा सुरु गर्नु भएका उ.र. क्षत्रीले तत्कालीन विद्रोही विरुद्धको प्रतिविद्रोहात्मक कारवाही सफलतापुर्वक सम्पन्न गर्नुभयो । उहांको अन्य जिम्मेवारीहरुमा नं.३ बाहिनीको जेष्ठ कार्याधिकृत, पृतना तहमा योजना अधिकृत, निरिक्षणाधिकृतको जेष्ठ निरिक्षक, सैनिक समाचार निर्देशनालयमा सह निर्देशक तथा सैनिक जनसम्पर्क निर्देशनालयका निर्देशकको जिम्मेवारी समेत सफलतापुर्वक सम्पन्न गरी सक्नु भएको छ ।


वि.सं.२०६० कार्तिक ११ गतेको घटनाले उ.र. क्षत्रीको जीवनीमा ठुलो परिवर्तन ल्याईदियो । आफ्नो निवासबाट कार्यालयतर्फ आउंदै गर्दा तत्कालीन विद्रोहीले धावा बोली उहांमाथि आक्रमण गरे । त्यस घटनामा उहांका अंङ्गरक्षकको तत्कालै मृत्यु भयो तर आफ्नो आत्मरक्षाका लागि प्रतिकार गर्ने क्रममा उहांको कम्मरमा गोली लाग्यो । उपचारका क्रममा उहांको कम्मर मुनीको भाग नचल्ने भयो तर पनि उहांले हिम्मत नहारी सेनामा सेवा गर्ने ईच्छा व्यक्त गर्नुभयो । नेपाली सेनाले पनि उहांको योगदानको कदर गर्दै उहांलाई विभिन्न जिम्मेवारीहरु दियो । हाल नेपाली सेनाको श्री अनुसन्धान तथा बिस्तार निर्देशनालयका निर्देशकका रुपमा कार्यरत उहाँ यस अगाडी श्री सैनिक जनसम्पर्क निर्देशनालयका निर्देशक साथै सैनिक प्रवक्ताको रुपमा ५ वर्षभन्दा बढी कार्यरत हुनुहुन्थ्यो जुन नेपाली सेनामा अहिलसम्मकै लामो अवधि हो ।


उ.र. क्षत्रीले त्रिभुवन विश्वविद्यालयबाट राजनीति-शास्त्रमा स्नातकोत्तर गर्नु भएको छ भने उहां सैनिक नागरिक सम्बन्ध (Civic Military Relation) का Post-Graduate विद्यार्थी समेत हुनुहुन्छ । उहां सुप्रबल जनसेवाश्री, सुप्रबल गोरखा दक्षिण बाहु लगायत विभिन्न स्वदेशी तथा विदेशी पदकहरुबाट समेत सम्मानित हुनुहुन्छ । उ.र. क्षत्रीको भ्रमण र संगीतमा विशेष लगाव रहेको छ । उहांले हालै मात्र ‘जीवन सुन्दर छ भाग १ र २’ नामक गीति एल्वमहरु निकाल्नु भएको छ भने तेश्रो संस्करण पनि छिट्टै निस्कने अवस्थामा छ । उहां ‘महासेनानी गोपाल बहादर खत्री मेमोरियल ट्रष्ट’ नामक गैर-नाफामुलक संस्थाको संस्थापक सदस्य हुनुहुन्छ । यस संस्थाले द्धन्द्धकालमा विभिन्न कारणबाट कर्तव्यपालनाको सिलसिलामा घाईते र अपाङ्ग भएका सैनिकहरु र तिनका आश्रितहरुलाई सहयोग पुर्‍याउने लक्ष्य राखेको छ । उ.र. क्षत्रीले उक्त सराहानीय कार्यको लागि आफ्नो गीति एल्बमबाट उठेको ३५ लाख कोषलाई प्रदान गर्नुभएको छ । उ.र. क्षत्रीको विवाह शान्ता क्षत्रीका साथ सुसम्पन्न भएको थियो भने उहांका दुई छोरीहरु अभिलाषा र आकांक्षा रहेका छन् ।

उपयोगी लि‌कहरु

     NEPALESE ARMY       |       BPOTC       |       NAIHS    
Number of hits: 001012216